काठमाडौं। सिनियर लेग स्पिनर पियुष चावला फेरि उत्तर प्रदेश फर्किएका छन्। आगामी घरेलु सिजनसँगै उनी अगस्टमा लखनउको अटल बिहारी वाजपेयी स्टेडियममा हुने उत्तर प्रदेश टी–२० लिगमा पनि खेल्ने छन्।
दुई पटकको विश्व च्याम्पियन लेग स्पिन अलराउन्डर उत्तर प्रदेश छोडेर २०१६ मा गुजरात गएका थिए। उनले गुजरातका लागि सात वर्ष घरेलु क्रिकेट खेलेका थिए।
अब उनी फेरि उत्तर प्रदेश फर्कन तयार छन्। उनी हाल उत्तर प्रदेशका लागि सेतो बल क्रिकेट खेल्दै देखिनेछन्। तर, उनले रणजी ट्रफी खेल्ने सम्भावनालाई पूर्ण रुपमा अस्वीकार गरेका छैनन्।
चावलाले उत्तर प्रदेशका लागि आफ्नो अन्तिम खेल अक्टोबर २०१६ मा बंगालविरुद्ध जयपुरमा खेलेका थिए, जसमा उनी घाइते भएका थिए। इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो सर्वाधिक १९२ विकेट लिने बलर ३५ वर्षीय चावलाले दुई साताभित्र प्रशिक्षण सुरु गर्ने भएका छन्। अहिलेसम्म उनी पहिलो एकदिवसीय विश्वकप र त्यसपछि टी–२० विश्वकपको कमेन्ट्रीमा व्यस्त देखिएका छन्।
चावला उत्तर प्रदेशका सबैभन्दा सफल क्रिकेटर हुन्। उनले सन् २००५ मा उत्तर प्रदेशबाट डेब्यु गरेका थिए। उनको नाममा तीनवटै ढाँचामा एक हजार १४ विकेट छ। जसमा फर्स्ट क्लासमा ४४५, लिस्ट ए मा २५४ र टी–२० मा ३१५ विकेट छन्।
उनले भारतका लागि तीन टेस्ट, २५ एकदिवसीय र सात टी–२० खेलेका छन् र २००७ टी–२० विश्वकप र २०११ ओडीआई विश्वकप विजेता टोलीका सदस्य थिए। यस्तो अवस्थामा उनको अनुभवले आगामी विजय हजारे र सैयद मुश्ताक अली ट्रफीमा उत्तर प्रदेशको टोलीलाई पक्कै मद्दत गर्नेछ।
गुजरात जानुअघि चावलाले उत्तर प्रदेशका लागि ८० रणजी ट्रफी खेलेका थिए।