काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ)अन्तर्गत रहेका सात देशका फुटबल संघका अध्यक्ष, महासचिवको बैठक जुलाई २२–२३ मा काठमाडौंमा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले भने, ‘दक्षिण एसियाली सात देशका फुटबल संघ/महासंघका अध्यक्ष र महासचिवको बैठक काठमाडौंमा आयोजना गर्ने टुंगो लागेको छ। यो साफको कार्यसमिति बैठक होइन। तर, दक्षिण एसियामा फुटबलको विकास, विस्तार र प्रतियोगिताबारे बैठकमा छलफल गर्नेछौं।’ दक्षिण एसियाी फुटबलको सर्वोच्च संस्था साफमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटान र पाकिस्तान सदस्य छन्।
एन्फाले आयोजना गर्न लागेका अन्तर्राष्ट्रिय दुई प्रतियोगिता साफ यु–२० च्याम्पियनसिप २०२४ र साफ महिला च्याम्पियनसिप २०२४ को पूर्वसन्ध्यामा दक्षिण एसियाली क्षेत्रका फुटबल संघका अध्यक्ष, महासचिवको बैठक काठमाडौंमा हुने भएको हो।
साफ यु–२० अगस्ट १६–२८ र साफ महिला अक्टोबर १७–३० मा काठमाडौंमा हुँदैछ। त्यसअघि एएफसी च्यालेन्ज लिग २०२४–२०२५ छनोटको प्ले–अफमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसी अगस्ट १३ मा दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।