काठमाडौं। अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आइतबार हुने कोपा अमेरिकाको फाइनल खेल्ने योजना बनाएका छन्।
अर्जेन्टिनाले क्यानडामाथि २–० को जित हात पारेपछि मंगलबार राति उनले भने, 'मैले भनिसकेको छु, म निरन्तरता दिन चाहन्छु। भविष्यमा के हुन्छ भनेर सोच्दिन। म ३७ वर्षको भएँ। मैले सन्न्यास कहिले लिन्छु भनेर भगवानलाई मात्रै थाहा छ।
क्यानडाविरुद्ध मेसीले एक गोल गरेका थिए। यो गोल यस प्रतियोगिताको पहिलो हो। योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा १०९ औं गोल पूरा गरेका छन्। कोपा अमेरिकामा भने यो उनको १४औं गोल हो।
सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि आठ पटकका बालोन डी'ओर विजेता मेसीले मेटलाइफ रङ्गशालाको लकर रुमबाहिर सम्बोधन गर्दै सन्न्यासको घोषणा गरेका थिए। उनले सात हप्तापछि आफ्नो निर्णय फिर्ता लिएका थिए।
त्यसपछि ७३ अन्तर्राष्ट्रिय खेलमा उनले ५४ गोल गरेका छन्। उनको कप्तानीमा अर्जेन्टिनाले २०२१ कोपा अमेरिका र २०२२ को विश्वकप जितेको थियो।