काठमाडौं। रियल मड्रिडले स्टार स्ट्राइकर किलियन एमबाप्पेलाई आगामी मंगलबार सान्टियागो–बर्नाबेउमा आफ्ना समर्थकमाझ सार्वजनिक गर्ने भएको छ।
फ्रान्सको टोली युरो कपको सेमिफाइनलमा स्पेनसँग पराजित भएको २४ घण्टा नबित्दै रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वस्टारलाई सार्वजनिक गर्ने जानकारी दिएको हो।
उनले रियलमा ९ नम्बरको जर्सी लगाउने छन्। एमबाप्पेलाई मंगलबार मध्याह्न (स्थानीय समयानुसार १०:०० बजे) बर्नाबेउमा प्रस्तुत गरिनेछ। त्यसपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनको पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्ने क्लबले बुधबार घोषणा गरेको छ ।
युरो कपमा फ्रान्सका कप्तानले अस्ट्रियाविरुद्धको पहिलो खेलमा नाक भाँचेका थिए र मंगलबार स्पेनसँग २–१ ले पराजित हुँदा बराबरी गर्ने अन्तिम मौका गुमाएका थिए ।
एमबाप्पे १५ मिलियन युरो (१६.२ मिलियन अमेरिकी डलर) को वार्षिक तलबमा फ्रि एजेन्टको रूपमा रियल पुगेका हुन्। उनले १०० मिलियन यूरोभन्दा बढी बोनस पाउने छन्।