काठमाडौं। युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले १-१ गोलको बराबरी खेलेका छन्।
सिग्नल इडुना पार्कमा जारी खेलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो।
नेदरल्यान्ड्सका लागि जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। हाफ भली प्रहार गर्नेक्रममा इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए।
जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर)को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई केनले सदुपयोग गरेका हुन्।
योसँगै डम्फ्रिजले पहेंलो कार्ड पाएका छन्।