काठमाडौं। क्रेग बेलामीलाई वेल्स राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्। वेल्स फुटबल संघ (एफएडब्लु) ले मंगलबार उनलाई सन् २०२८ सम्मका लागि प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।
४४ वर्षीय पूर्वफरवार्ड बेलामीले युरो कपका लागि छनोट हुन नसकेपछि गत महिना बर्खास्त गरिएका रोब पेजको स्थान लिएका छन्।
'देशको नेतृत्व गर्ने अवसर पाउनु मेरो लागि अविश्वसनीय सम्मान हो। यो मेरो क्यारियरको सबैभन्दा गर्वको क्षण हो। वेल्सको मुख्य प्रशिक्षक बन्ने मेरो अन्तिम सपना थियो। म चुनौतीका लागि तयार छु,' बेलामीले भने।
बेलामीले १८ वर्षको उमेरमा वेल्सको टोलीमा डेब्यु गरेका थिए। उनले वेल्सका लागि ७८ खेल खेलेका थिए। सन् २००७ मा रायन गिग्सको सन्यासपछि उनलाई कप्तानी दिइएको थियो। यस्तै, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, लिभरपुल र न्युक्यासल युनाइटेडबाट समेत उनले खेलेका थिए।
सन् २०१४ मा सन्यास लिएयता बेलामीले कार्डिफ सिटी यू–१८ टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए।