काठमाडौं। नेदरल्यान्ड्सका डिफेन्डर मिकी भान डे भेनले युरो कपको सेमिफाइनलमा बुधबार इङ्ल्यान्डविरुद्ध हुने खेल प्रिमियर लिगजस्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन्। यो खेल डर्टमन्डमा हुनेछ।
डच टोलीका कप्तान भर्जिल भान डाइक र कोडी गाक्पोसँगै सेन्टर ब्याक भेनले इङ्ल्यान्डमा व्यवसायिक फुटबल खेल्दै आएका छन्। भान डाइक र गाक्पो लिभरपुलमा आबद्द छन् भने भेन टोटेनह्याममा छन्।
इङ्ल्यान्डका खेल यस प्रतियोगितामा सुस्त देखिएको छ। तर, डर्टमुन्डमा डचसँगको भेटमा तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
'यदि तपाई दुवै टोलीका खेलाडीको लय र स्तरको गुणस्तर हेर्नुहुन्छ यस्तै खेलको अपेक्षा गर्न सकिन्छ,' भान डे भेनले सोमबार पत्रकारहरूसँग भने। रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घमलाई खेलमा गोल गर्नबाट रोक्न डच खेलाडीले प्रयास गर्ने गाक्पोले बताए।
अन्तिम १६ मा स्लोभाकियाविरुद्ध उत्कृष्ट ओभरहेड किक प्रहार गर्दै इङ्ल्यान्डलाई उनले हारबाट बचाएका थिए। 'पक्कै पनि उनको सिजन निकै राम्रो छ, उनी विश्वस्तरीय खेलाडी हुन् र उनले उत्कृष्ट गोल गरेका छन्। उनी एक खेलाडी हुन् जसलाई हामीले मार्क गर्न आवश्यक छ। उनीबाहेक इङ्ल्यान्डमा धेरै राम्रो खेलाडीहरू छन्, तर हामीसँग पनि धेरै राम्रो टोली छ,' उनले भने।
इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। नेदरल्यान्ड्सले भने सेमिफाइनलमा पुग्न टर्कीलाई २–१ गोलअन्तरले पाखा लगायो।
' पेनाल्टीमा उनीहरूले राम्रै गरे। यसबाट म प्रभावित भएँ तर आश्चर्यचकित भइन। यदि सेमिफाइनल पेनाल्टी सुटआउटमा पुग्यो भने हामी जित्छौं भन्ने मलाई आशा छ,' जारी प्रतियोगितामा तीन गोल गरिसकेका गाक्पोले भने।
दुई वर्षअघि कतारमा भएको विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको नेदरल्यान्ड्स सन् २००४ पछि पहिलो पटक युरोको सेमिफाइनलमा प्रवेश गरेको हो। 'हामी अघिल्लो प्रतियोगिताको तुलनामा एक कदम अगाडि छौं। यो टोलीको हिस्सा बन्न पाएकोमा म खुशी छु,' गाक्पोले भने।