काठमाडौं। स्पेनिस मिडफिल्डर थियागो अल्कान्टाराले व्यावसायिक फुटबलबाट सन्न्यास लिएका छन्। पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका ३३ वर्षीय थियागोले सामाजिक सञ्जालमार्फत सन्न्यास लिने घोषणा गरेका हुन्।
‘मैले जे-जे पाएको छु, यो सबै फुटबलकै कारण हो। मलाई साथ दिने र राम्रो खेलाडी बनाउन सहयोग गर्ने सबैप्रति आभार,’ उनले भनेका छन्
थियागोले सन् २००८ मा क्याटलान क्लब बार्सिलोनाबाट आफ्नो सिनिअर करिअर सुरु गरेका थिए। ५ वर्ष क्याम्प नोउमा रहेका उनले ४ ला लिगा र १ च्याम्पियन्स लिग जिते। त्यसपछि उनी जर्मन क्लब बायर्न म्युनिख ओर्लिए। बायर्नमा ७ वर्ष बिताएका उनले ७ जर्मन बुन्डेसलिगा र एक च्याम्पियन्स लिग जिते।
त्यसपछि उनी प्रिमियर लिग क्लब लिभरपुल उक्लिएका थिए। ४ वर्षे सम्झौतामा लिभरपुलमा अनुबन्ध भएका उनले ९८ खेल खेले। लिभरपुलमा रहँदा उनले सन् २०२२ मा एफए कपको उपाधि जिते।
२०२२/२३ को सिजनमा उनले हिपको शल्यक्रिया गराएका थिए। २०२४ को फेब्रुअरीमा आर्सनलविरुद्धको खेलमार्फत मैदान फर्किएका उनी पहिलो खेलमै घाइते भए। त्यसयता उनले पुनरागमन गर्न सकेनन्। स्पेनका लागि उनले सन् २०११ देखि २०२१ सम्म ४६ खेल खेल्दा दुई गोल गरेका छन्।