काठमाडौं। म्याच फिक्सिङको आरोप लागेका रेफ्री फेलिक्स ज्वेयरले युरो कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेल खेलाउने भएका छन्।
युइएफए र जर्मन फुटबल फेडेरेसनले सोमबार उनले उक्त खेल खेलाउन अनुमति दिएको हो। रोमानियालाई अन्तिम १६ मा नेदरल्यान्ड्सले ३–० ले पराजित गर्दा पनि उनले नै उक्त खेल खेलाएका थिए। बुधबारको खेल उनका लागि युरो कपको चौथो र नेदरल्यान्ड्ससँग दोस्रो हुनेछ ।
युवा सहायक रेफ्रीको रूपमा ज्वेयरलाई सन् २००६ मा म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएको थियो। त्यतिखेर उनलाई अर्का रेफ्री रोबर्ट होइजरबाट पैसा लिएको आरोपमा ६ महिनाको प्रतिबन्ध लगाइएको थियो।
सन् २०१४ मा जर्मन पत्रिका डाई जेइटमा प्रकाशित उक्त मुद्दामा एक फैसलामा भनिएको छ, 'ज्वेयरले सन् २००४ मा एक खेलअघि होइजरबाट ३०० युरो (३२५ अमेरिकी डलर) लिएका थिए र उनले तत्काल घटनाबारे जानकारी दिएका थिएनन्।'
सन् २०२१ को डिसेम्बरमा बायर्न म्युनिखसँग बुरुसिया डर्टमन्ड ३–२ ले पराजित भएपछि ज्वेयरको आलोचना गरेको भन्दै इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमलाई ४० हजार युरो (४३ हजार ४ सय अमेरिकी डलर) जरिवाना गरिएको थियो ।
नर्वेजियन प्रसारणकर्ता भायाप्लेसँग उनले भनेका थिए, 'तपाई यस्तो रेफ्रीलाई जिम्मेवारी दिनुहुन्छ, जुन जर्मनीको सबैभन्दा ठूलो खेल हो। यसबाट के अपेक्षा गर्ने?' त्यसपछि डर्टमन्डका कुनै पनि खेलमा ज्वेयरलाई जिम्मेवारी दिइएको छैन।