कोलम्बो। पूर्वकप्तान सनथ जयसूर्या श्रीलंका पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
ट्वान्टी–२० विश्व कपमा श्रीलंका समूहचरणबाटै बाहिरिएपछि इङ्ल्यान्डका ४९ वर्षीय प्रशिक्षक क्रिस सिल्भरवुडले व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षकपदबाट राजीनामा दिएका थिए।
त्यसैले भारतविरुद्धको घरेलु शृंखला र सेप्टेम्बरमा इङ्ल्यान्डविरुद्ध हुने टेस्ट भ्रमणसम्मका लागि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
जयसूर्यासँग प्रशिक्षण गराएको अनुभव छैन। तर, उनी श्रीलंकाली टोलीको मुख्य छनोटकर्ता भने भइसकेका छन्। टेस्ट र एकदिवसीय पूर्वकप्तान जयसूर्याले जारी लंका प्रिमियर लिग (एलपिएल) को अन्त्यपछि टोलीको नेतृत्व सम्हाल्नेछन्।
उनले एकदिवसीय क्रिकेटमा १३ हजार ४३० रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको नाममा ३२३ विकेट पनि छन्। यसबाहेक उनले ११० टेस्ट र ३१ ट्वान्टी–२० खेलेका छन्। उनले अन्तिम पटक सन् २०११ मा अन्तर्राष्ट्रिय खेल खेलेका थिए।