काठमाडौं। स्पेनिस गोलकिपर एड्रियनले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाड्ने भएका छन्। सम्झौता सकिएसँगै उनले क्लब छाड्न लागेका हुन्।
३७ वर्षीय एड्रियनले लिभरपुलसँग पाँच वर्ष बिताए। उनले क्लबाट २६ खेलमात्रै खेल्न पाए। उनले सन् २०१९ मा युइएफए सुपर कपमा चेल्सीविरुद्ध लिभरपुललाई पेनाल्टी सुटआउटमा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
क्लबले भनेको छ,'एड्रियनले यस समरमा लिभरपुल छोड्छन्। एनफिल्डमा आफ्नो पाँच वर्षको अवधिमा उनले क्लबको सफलतामा बहुमूल्य योगदान पुर्याएका छन्।'
सन् २०१९ मा एनफिल्ड भित्रिएका उनी ब्राजिलियन गोलकिपर एलिसनको छायाँमा परे। काओइमिन केलेहरको उदयसँगै एड्रियन लिभरपुलका लागि तेस्रो रोजाइका गोलकिपर बनेका छन् । उनले २०२२ मा कम्युनिटी शिल्डमा क्लबको लागि आफ्नो अन्तिम उपस्थिति जनाएका थिए।
केलेहर र एलिसन चोटका कारण खेलबाट बाहिरिएका थिए जसका कारण एड्रियनले म्यानचेस्टर सिटीविरुद्धको खेलमा ग्लब्स लगाउने अवसर पाएका थिए।