काठमाडौं। च्याम्पियन्स ट्रफी २०२५ अर्को वर्ष फेब्रुअरी १८ देखि मार्च ९ सम्म आयोजना हुँदैछ। मार्च १० लाई रिजर्भ डेको रूपमा राखिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यसका लागि विन्डो खोज्न थालेको छ। यसैबीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले कराँची, लाहोर र रावलपिन्डीमा रहेका आफ्ना स्टेडियमहरूको मर्मतसम्भार लागि करिब १७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
पाकिस्तानले सन् २००८ मा पूरै एसिया कप आयोजना गरेको थियो। तर, सन् १९९६ पछि पहिलो पटक पाकिस्तानले आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो।
गत वर्ष एसिया कपका केही खेल पाकिस्तानले आफ्नो भूमिमा आयोजना गरेको थियो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईसीसी प्रतियोगिताको लागि राष्ट्रिय टोली पाकिस्तान पठाउने या नपठाउने औपचारिक रूपमा पुष्टि गरेको छैन।
पीसीबीको गभर्निङ बोर्डको शनिबार लाहोरमा भएको बैठकले स्टेडियमको मर्मतसम्भारका लागि करिब १७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। जसमा महिला क्रिकेटका लागि पनि २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
पीसीबीका अध्यक्ष मोहसिन नक्वीले बोर्ड सदस्यहरूलाई च्याम्पियन्स ट्रफी पूर्णरूपमा पाकिस्तानमा आयोजना गरिने र यस महिनाको अन्त्यमा कोलम्बोमा हुने आइसिसीको वार्षिक बोर्ड बैठकमा थप छलफल गरिने बताए।