काठमाडौं। सन् २००२ को विश्वकपका एक स्टार खेलाडी होङ म्युङ–बोलाई दोस्रो पटक दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।
होङले जर्गेन क्लिन्सम्यानको स्थान लिएका हुन्। ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि जुलाई २०१४ मा होङले राजीनामा दिएका थिए। यसअघि उनले कोरियाली टोली एक वर्ष सम्हालेका थिए।
सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाली टोलीका उनी कप्तान हुन्।
सन् २०२२ र २०२३ मा लगातार के–लिग च्याम्पियन टोलीको नेतृत्व गरेका ५५ वर्षीय होङले उल्सान एचडी छोड्ने छन्। एसियन कपमा कोरियाले निराशाजनक प्रदर्शन गरेपछि क्लिन्सम्यानलाई गत फेब्रुअरीमा बर्खास्त गरिएको थियो।
अमेरिकी प्रशिक्षक जेसी मार्श कोरिया फुटबल संघ (केएफए)को सर्टलिस्टमा शीर्ष स्थानमा रहेपनि उनी मेमा क्यानडाको टोलीमा आबद्ध भए। इंग्लिस प्रिमियर लिगमा पदोन्नति गर्न असफल भएपछि नर्विच सिटीले बर्खास्त गरेका जर्मन प्रशिक्षक डेभिड वाग्नर र ग्रीसका पूर्वप्रशिक्षक गुस पोयट पनि यस सूचीमा थिए।
सन् २०१२ को लन्डन ओलम्पिकमा दक्षिण कोरियाको यू–२३ टोलीलाई कास्य पदक दिलाएका होङले हालैको के–लिग खेलपछि प्रशिक्षकको दौडबाट आफूलाई बाहिर राखेका थिए। तर, अब सन् २०२६ को विश्वकप छनोटको तेस्रो चरणको तयारीका लागि दुई महिना बाँकी छ। दक्षिण कोरियाले सेप्टेम्बर ५ मा प्यालेस्टाइनी टोलीसँग खेल्दै समूह 'बी' मा जोर्डन, ओमान, कुवेत र इराकको सामना गर्नेछ।
एसियाको नयाँ छनोट फर्म्याटमा ६ टिमको तीन वटै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्वत: स्थान पक्का गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने ६ टोली चौथो चरणमा प्रवेश गर्नेछन्, जहाँ थप दुई स्थान उपलब्ध छन्।