पाँचथर । झापा -११ ले १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि जितेको छ ।
फिदिममा सोमबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ - १ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।
झापालाई जित दिलाउन पुजन उपरकोटीलाई दुई गोल गरे । आर्मीका राजीव गुरुङले एक गोल फर्काए । उपाधिसंगै झापाले ४ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले २ लाखमा चित्त बुझाएको छ ।
पहिलो हाफको २३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा आर्मीका राजिबले गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याए । तर, खेलको ८३ औं मिनेटमा पुजनले व्यक्तिगत गोल गर्दै झापालाई जित दिलाए ।
प्रतियोगितामा झापाका देबेन्द्र तामाङ उत्कृष्ट खेलाडी बन्दै यामाहा मोटरसाइकल प्राप्त गरे । प्रतियोगितामा झापाका कर्ण लिम्बु सर्वाधिक गोलकर्ता चुनिए । प्रतियोगिताभर ४ गोल गरेका उनले १५ हजार नगद प्राप्त गरे । यस्तै व्यक्तिगत विधामा झापाका खेलाडीको वर्चश्व रह्यो । व्यक्तिगत विधामा उत्कृष्ट हुनेले १०/१० हजार प्राप्त गरेका छन् ।
यसअघि सेमिफाइनलमा झापाले काठमाडौंका सरस्वती युथ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै आर्मीले दार्जिलिङको रोयल फुटबल क्लबलाई हराउँदै फाईनल यात्रा तय गरेको थियो ।
फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघले संयुक्त आयोजना गरेको प्रतियोगितामा ए डिभिजनबाट एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, सरस्वती र मोफसलबाट सुनसरी ११, झापा ११, मोरङ ११, कर्णसिंह सोनाम स्मृति, आयोजक फिदिम स्पोर्टिङ गरि १० टोलीको सहभागिता रहेको थियो ।
व्यक्तिगत विधामा को उत्कृष्ट ?
गोलकिपर - मनोज प्रधान (झापा)
डिफेन्डर - युद्ध शाही (आर्मी)
मिडफिल्डर - पुजन उभरकोटी (झापा)
फरवार्ड - दिलेन लोत्ताम (झापा)
प्रशिक्षक - प्रवेश कटुवाल (झापा)
उदियमान खेलाडी - प्रविण जबेगु (फिदिम स्पोर्टिङ क्लब)
सर्वाधिक गोलकर्ता - कर्ण लिम्बु (झापा)