काठमाडौं। बायर्न म्युनिखले क्रिस्टल प्यालेसका युवा फरवार्ड माइकल ओलिसेलाई आइतबार अनुबन्ध गरेको छ।
बायर्नसँग पाँच वर्षको सम्झौता गरेका २२ वर्षीय ओलिसेले गत सिजन प्रिमियर लिगका १९ खेलमा १० गोल गरेका थिए।
बायर्नले भिन्सेन्ट कोम्पनीलाई टोलीको प्रशिक्षकको रूपमा नियुक्त गरेपछि ओलिसे क्लबमा भित्रिने दोस्रो नयाँ खेलाडी हुन्। यसअघि स्टुटगार्टबाट जापानी डिफेन्डर हिरोकी इटोलाई बायर्नले भित्र्याएको थियो।
लण्डनमा जन्मिएका तर फ्रान्सका लागि २१ वर्षमुनिको स्तरमा खेलेका ओलिसेले तीन वर्षमा ९० खेल खेलेपछि प्यालेस छाडेका हुन्। पूर्वप्रशिक्षक थोमस टुचेलको नेतृत्वमा बायर्न बुन्डेसलिगामा तेस्रो स्थानमा खुम्चिएको थियो।
बायर्नले फुलह्यामबाट डिफेन्सिभ मिडफिल्डर जोआओ पाल्हिन्हासहित अन्य केही खेलाडीलाई पनि अनुबन्धित गर्ने योजना बनाएको छ।