काठमाडौं। जर्मनीका मिडफिल्डर टोनी क्रुसले दोस्रोपटक सन्न्यास लिएका छन्।
युरो कपअन्तर्गत शनिबार सम्पन्न क्वार्टरफाइनलको खेलमा स्पेनसँग २–१ गोलअन्तरले पराजित हुँदै जर्मनी बाहिरिएपछि उनले पुन: सन्न्यास लिएका हुन्।
३४ वर्षका मिडफिल्डरले सन् २०२१ को जुनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए। तर, उक्त सन्न्यास फिर्ता लिएर उनी राष्ट्रिय टिममा फर्किएका थिए। उनले यो युरो कप सकिएसँगै सन्न्यास लिने बताएका थिए।
क्रुस पूर्वीजर्मनीमा जन्मिएका अन्तिम जर्मन खेलाडी थिए। उनले जर्मनीका लागि ११४ खेल खेलेका थिए। उनले यसपटक युरो कपका पाँच खेल खेले।
क्रुसले मार्चमा जर्मनीलाई फ्रान्स र नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण जित दिलाएका थिए। क्रुसको पुनरागमन अघिको जर्मनीको प्रदर्शन निराशाजनक थियो। जर्मनीले चारमा दुई खेल हारेको थियो र एक बराबरी खेलेको थियो।
समग्रमा क्रुसले जर्मनीलाई ६ जित र एक बराबरीको नतिजा दिलाए। उनको आठौं खेलमा भने जर्मनी स्पेनसँग २-१ गोलअन्तरले पराजित भयो।
क्रुसले रियल मड्रिडका साथै बायर्न म्युनिखबाट ६ च्याम्पियन्स लिग, ४ स्पेनिस लिग, ३ बुन्डेसलिगा, ३ जर्मन कप र १ कोपा डेल रे जितेका छन्। जर्मनीसँग उनको सबैभन्दा ठूलो सफलता सन् २०१४ को विश्वकप को उपाधि थियो।