काठमाडौं । नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जितसहित नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बैंककमा युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ओपनर सिता राना मगरले ३७ रन जोडिन । यस्तै काजल श्रेष्ठले २५ रन जोड्दा इन्दु बर्माले १३ रन बनाईन् ।
कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहदा नेरी थापा ६ रनमा अविजित रहिन् । युएईका इशा ओजा, हुमाईरा तास्निम र चमानी सिनेभिरात्नेले एक एक विकेट लिए ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १०५ रन बनायो । युएईका छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाईन् । चमानी सिनेभिरात्ने अविजित २३ रन जोडिन ।
नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिईन् ।
जितसंगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । र, नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसंग खेल्नेछ ।
नेपालसंग पराजित युएईको पनि सेमिफाइनलमा पुग्ने सम्भावना बलियो रहेको छ । अघिल्ला दुई खेल जितेको युएईको ४ अंक रहेको छ ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।