काठमाडौं। च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि मार्च ९ सम्म हुने तय छ। मार्च १० लाई फाइनलको लागि रिजर्भ डे राखिएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिताका १५ खेलको ड्राफ्ट आईसीसीलाई पठाएको छ। आईसीसीले प्रतियोगितामा सहभागी ८ टोलीको बोर्डबाट सहमति लिएर मात्र यो तालिका स्वीकृत गर्नेछ।
पाकिस्तानले मार्च १ मा लाहोरमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारतको सामना गर्न सक्छ। तर, बीसीसीआईले यो खेलका लागि अहिलेसम्म सहमति दिएको छैन। आईसीसी बोर्डका एक वरिष्ठ सदस्यले बुधबार पीटीआईलाई यो जानकारी दिएका हुन्।
आईसीसीलाई पठाइएको ड्राफ्टमा सुरक्षाका कारण भारतका सबै खेल लाहोरमा राखिएको छ। आईसीसी एक बोर्ड सदस्यले भने, ‘पीसीबीले १५ खेलको आईसीसी च्याम्पियन्स ट्रफीको ड्राफ्ट बुझाएको छ। सात खेल लाहोरमा, तीन कराँचीमा र पाँच रावलपिण्डीमा हुनेछन्। उद्घाटन खेलहरू कराँचीमा हुनेछन्, दुई सेमिफाइनल कराँची र रावलपिण्डीमा हुनेछ। यसबाहेक फाइनल खेल लाहोरमा हुनेछ, यदि टोली सेमिफाइनलमा पुग्यो भने यो खेल पनि लाहोरमा हुनेछ।’
सन् १९९६ पछि पहिलो पटक पाकिस्तानले आईसीसीको ठूलो प्रतियोगिता आयोजना गर्दैछ। तर, सन् २००८ मा पूरै एसिया कप पीसीबीले आयोजना गरेको थियो र गत वर्ष पनि एसिया कपका केही खेल पाकिस्तानमा आयोजना गरेको थियो।
समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै बंगलादेश र न्युजिल्यान्ड रहेका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान छन्। भर्खरै, आईसीसी इभेन्ट्स प्रमुख क्रिस टेटलीले पीसीबी अध्यक्ष मोहसिन नक्वीलाई इस्लामाबादमा भेटेपछि सुरक्षा र अन्य व्यवस्थाको निरीक्षण गरेक थिए।