काठमाडौं। इक्वेडरसँग शुक्रबार हुने कोपा अमेरिकाको क्वार्टरफाइनलअघि फरवार्ड लिओनल मेसीको फिटनेसमा शंका उब्जिएको छ। मुख्य प्रशिक्षक लियोनल स्कालोनीले आफ्नो टोलीको प्लेइङ ११ घोषणा गर्नुअघिसम्म पर्खने बताएका छन्।
ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएका थिए। उक्त खेलमा अर्जेन्टिना २–० गोलले विजयी भएको थियो।
‘हामी केही घण्टा पर्खनेछौं र निर्णय गर्नेछौं। एक दिन उनलाई पर्खिँदा राम्रो हुन्छ,’ उनले पत्रकार सम्मेलनमा भने। उनले ३७ वर्षीय मेसीसँग खेलका लागि आफ्नो तयारीबारे परामर्श गर्ने बताएका छन्।
‘उसलाई खेलाउने प्रयास गर्नेछौं। तर, उनी तयार छैनन् भने हामी टोलीको लागि उत्तम समाधान खोज्नेछौं,’ उनले भने। अर्जेन्टिनाले नकआउट चरणमा पहिले नै आफ्नो स्थान सुरक्षित गरेकोले स्कालोनीले पेरुविरुद्ध नौ परिवर्तन गरेका थिए।
यदि मेसी फिट नभए स्कालोनीले जुलियन अल्भारेज र लाउटारो मार्टिनेज दुवैलाई अग्रपंतीमा खेलाउन सक्छन्। लाउटारोले पेरुविरुद्धको खेलमा दुई गोल गरेका थिए। जारी प्रतियोगितामा उनले तीन खेलबाट चार गोल गरेका छन् भने अल्भारेजले क्यानडाविरुद्धको पहिलो खेलमा गोल गरेका थिए।
‘यो प्रतिद्वन्द्वीविरुद्ध उनीहरूले सँगै खेलिसकेका छन्। हामी कुनै पनि कुरालाई इन्कार गर्दैनौं किनभने उनीहरूले राम्रो गरिरहेका छन् र यो एकमात्रै विकल्प हो,’ स्कालोनीले भने।