काठमाडौं। क्रिकेट अस्ट्रेलिया (सीए) ले तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अस्ट्रेलियाले अफगानिस्तानसँग द्विपक्षीय क्रिकेट नखेल्ने दोहोर्याएको छ।
सीएका प्रमुख कार्यकारी निक होकले यस विषयमा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)सँग नियमित संवाद जारी रहेको र भविष्यमा अफगानिस्तानबीच फेरि द्विपक्षीय क्रिकेट खेलाइने अपेक्षा गरिएको बताएका छन्।
‘अफगानिस्तानका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। द्विपक्षीय खेलहरूको सन्दर्भमा हामीले सरोकारवालाहरू (अस्ट्रेलियाली सरकार) सँग व्यापक रूपमा परामर्श गरेका छौं र मानव अधिकारको आधारमा अफगानिस्तान क्रिकेट बोर्डसँग केही श्रृंखलाहरू स्थगित गर्ने निर्णय गरेका छौं,’ उनले भने।
अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको छ। गत महिना भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाका खेलाडी उस्मान ख्वाजाले सीएको अडान ठीक नभएको बताएका थिए।
‘अफगानिस्तान क्रिकेट बोर्डसँग घनिष्ठ सम्बन्ध र नियमित अन्तरक्रिया कायम राख्न चाहन्छौं। क्रिकेट पुरुष र महिला दुवै विश्वभर फस्टाउँदै जाओस् भन्ने पनि हामी चाहन्छौं। हामी अफगानिस्तान क्रिकेट बोर्डसँग छलफल र सम्पर्क जारी राख्नेछौं। वार्ताको उद्देश्य भविष्यमा अफगानिस्तानविरुद्ध द्विपक्षीय क्रिकेट पुनः सुरु गर्नु हो,’ होकले भने।
अफगानिस्तानका कप्तान राशिद खानले पनि खेलपछिको अवस्थाबारे टिप्पणी गर्दै भनेका थिए, ‘हामी यो समस्या समाधानका लागि केही गर्न सक्छौं भन्ने मेरो चाहना छ।
सन् २०२० मा तालिवानले कब्जा गर्नुअघि एसीबीले अनुबन्ध गरेका १७ जना अफगान महिला खेलाडीले सोमबार आइसिसीलाई पत्र लेख्दै अस्ट्रेलियामा शरणार्थी टोली बनाउन सहयोग मागेका थिए। एसीबीको ब्यानर वा अफगानिस्तानको राष्ट्रिय टोलीको ब्यानरमा खेल्नुको साटो अस्ट्रेलियामा रहेको इस्ट एसियन क्रिकेट अफिसले आफ्नो क्याम्प सञ्चालन गरोस् भन्ने टोली चाहन्छ।
‘अस्ट्रेलियामा बस्ने अफगानी महिलाले आइसिसीलाई पत्र लेखेका छन्। यस विषयमा कुनै पनि निर्णय आइसिसीले गर्नुपर्ने हुन्छ। जुलाईमा कोलम्बोमा हाम्रो बैठक हुन्छ र यस विषयमा पनि वार्ता हुनेछ भन्नेमा मलाई विश्वास छ। अस्ट्रेलियामा बस्ने अफगानी महिलाहरू क्रिकेट समुदायसँग जोडिएका छन् र उनीहरूलाई सम्पूर्ण समुदायबाट उत्कृष्ट समर्थन प्राप्त भइरहेको छ,’ होकले भने।