हर्जोजेनोराच। जर्मनीका अनुभवी मिडफिल्डर टोनी क्रुसले युरो कपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध हुने खेल आफ्नो करियरको अन्तिम खेल नहुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
क्रुसले गत मे महिनामा घरेलु मैदानमा युरो कपपछि आफ्नो बुट थन्क्याउने घोषणा गरेका थिए। जसको अर्थ स्टुटगार्टमा शुक्रबार हुने खेल उनको अन्तिम हुन पनि सक्छ।
स्पेनिस क्लब रियल मड्रिडका सहकर्मी फरवार्ड जोसेलुले यसै साता आफूहरू क्रुसलाई संन्यास पठाउन नचाहेको बताएका थिए। तर ३४ वर्षीय मिडफिल्डरको ध्यान जुलाई १४ मा बर्लिनमा हुने युरो कप फाइनलमै केन्द्रित छ।
‘शुक्रबार मेरो अन्तिम खेल हुन्छजस्तो लाग्दैन। हामी अझै केही समय प्रतियोगितामा रहनेछौं,’ उनले भने। सन् २०१४ को विश्वकप विजेता क्रुसले सन् २०२१ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका थिए। यद्यपि, मार्चमा उनी संन्यास लिएर जर्मनीको टोलीमा फर्किएका थिए।
‘युरो कप जित्ने लक्ष्यसहित फर्कने सोच थियो। यो हासिल उपलब्धी हासिल गर्ने सम्भावना मैले नदेखेको भए संन्यास फिर्ता लिने थिइनँ,’ उनले भने।
सन् २००७ मा बायर्न म्युनिखबाट व्यवसायिक फुटबलमा डेब्यु गरेका उनले ६ पटकका च्याम्पियन्स लिग जितिसकेका छन्। उनले क्लबमा डेब्यु गरेको वर्ष नै स्पेनका १६ वर्षीय विंगर लामिन यामालको जन्म भएको थियो।
‘यसले मलाई धेरै जवान महसुस गर्दैन। यो सिजन बार्सिलोनाका लागि यामाल सबैभन्दा राम्रो र खतरनाक खेलाडी सावित भएका थिए,’ उनले भने।