काठमाडौं। भारतीय निवर्तमान प्रशिक्षक राहुल द्रविडको प्रशिक्षण कार्यकाल गत वर्ष एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएपछि समाप्त भएको थियो। तर, टिमका कप्तान रोहित शर्माको आग्रहमा द्रविडले आफ्नो कार्यकाल लम्ब्याउने निर्णय गरे।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको भिडियोमा द्रविडले रोहितलाई धन्यवाद दिँदै भनेका छन्, ‘नोभेम्बरमा मलाई फोन गरेर प्रशिक्षण जारी राख्न आग्रह गर्नुभएकोमा धेरै धेरै धन्यवाद। तपाईहरू सबैसँग काम गर्न पाउनु मेरो लागि सम्मानको कुरा थियो।’
गत वर्ष एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पराजित हुँदा भारतीय टोलीका प्रशिक्षक उनी नै थिए। यस वर्ष आइसिसी ट्वान्टी–२० विश्वकप जितेपछि रोहित शर्मा र विराट कोहलीसँग मिलेर उनले उत्सव मनाएका थिए।
द्रविड र छनोटकर्ताहरूले कोहली र रोहितलाई यस वर्षको सुरुमा ट्वान्टी–२० फर्म्याटमा फिर्ता ल्याएका थिए। यी दुवै सिनियर खेलाडीले पछिल्लो ट्वान्टी–२० विश्वकपपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्।
द्रविडले कोहलीलाई सन्देश दिँदै भनेका छन्,‘सेतो बलको तीनवटै ट्रफी प्राप्त भएको छ, अब रातो बलको एउटा मात्र ट्रफी बाँकी छ।’
कोहली सन् २०११ को विश्वकप र सन् २०१३ को च्याम्पियन्स ट्रफी विजेता टोलीका सदस्य थिए। भारतले दुई पटक फाइनलमा पुगे पनि विश्व टेस्ट च्याम्पियनसिप जित्न सकेको छैन।
द्रविडको उत्तराधिकारीको घोषणा चाँडै हुनेछ। हाल जिम्बाब्वे भ्रमणमा रहेका भिभिएस लक्ष्मण भारतीय टोलीसँग प्रशिक्षकका रूपमा गएका छन्, जहाँ भारतीय टोलीले पाँच ट्वान्टी–२० शृंखला खेल्ने छ।
बीसीसीआईका सचिव जय शाहले श्रीलंकाविरुद्धको सीमित ओभरको शृंखलाअघि नै भारतीय टोलीको नयाँ प्रशिक्षकको घोषणा गरिने बताएका छन्।
गत महिना न्युयोर्कमा द्रविडले अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिका रहेको भन्दै प्रशिक्षक पदका लागि पुनः आवेदन दिन नसक्ने बताएका थिए।