काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपाललाई युएईले जितका लागि १०६ रनको लक्ष्य दिएको छ ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १०५ रन बनायो । युएईका छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाईन् । चमानी सिनेभिरात्ने अविजित २३ रन जोडिन ।
नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिईन् ।
अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा ४ अंक जोडेको छ । नेपाल युएईविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
युएई पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । अघिल्ला दुई खेल जितेको युएईको पनि ४ अंक रहेको छ ।
पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
जितसंगै समूह 'ए' मा रहेको नेपालले युएईपछि समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसंग खेल्नेछ ।