काठमाडौं। ट्वान्टी–२० विश्वकपको फाइनलमा भारतसँग पराजित भएपछि दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलरले नतिजा पचाउन कठिन भएको बताएका छन्।
यो हारको पीडा भुलेर आफ्नो टोलीले बलियो पुनरागमन गर्ने आशा उनले व्यक्त गरेका छन्। दक्षिण अफ्रिकाले कुनै पनि खेल नगुमाई फाइनलमा स्थान सुरक्षित गरेको थियो।
शनिबार बार्बाडोसमा भएको फाइनलमा भारतसँग सात रनले पराजित भएपछि मिलरले लेखेका छन्, ‘दुई दिनअघि जे भएको थियो, त्यो पचाउन निकै गाह्रो छ। मसँग आफ्नो भावना व्यक्त गर्न शब्द छैनन्। तर, मलाई यो टिमप्रति गर्व छ।’
फाइनलअघि दक्षिण अफ्रिकाले धेरै ‘क्लोज’ खेलहरू जितेको थियो। तर, उपाधि भिडन्तमा जितनजिक पुगेपछि अन्तिम पाँच ओभरमा टोली दबाबमा पर्यो।
मिलरले भने, ‘यो प्रतियोगितामा हाम्रो यात्रा निकै राम्रो रह्यो। हामीले महिनाभरि धेरै उतारचढाव देख्यौं। यद्यपि, यो टोलीले योभन्दा राम्रो प्रदर्शन गर्छ भन्नेमा मलाई विश्वास छ।’
दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको थियो। तर, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गरेपछि भारत खेलमा फर्कियो। पाण्ड्याले आक्रामक ब्याटर हेनरिक क्लासेनलाई आउट गरे भने बुमराहले मार्को जानसेनलाई आउट गरे।
दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो। तर, पाण्ड्याको पहिलो बलमा सूर्यकुमार यादवले मिलरलाई लङ अफ बाउन्ड्रीनजिक क्याच आउट गराएर दक्षिण अफ्रिका खेलमा फर्किन सकेन र भारत विजेता बन्यो।