काठमाडौं। जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० सिरिजका लागि भारतीय टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ। पाँच खेलको सिरिजको पहिलो खेल जुलाई ६ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ। अन्तिम ट्वान्टी–२० खेल जुलाई १४ मा सोही मैदानमा हुनेछ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अभिषेक शर्मा, मुकेश कुमार, रुतुराज गायकवाड, आवेश खान, रियान परागलगायतका खेलाडी जिम्बाब्वे प्रस्थान गरेको तस्बिर एक्समा सार्वजनिक गरेको छ। यस भ्रमणमा भारतका मुख्य प्रशिक्षक पूर्व क्रिकेटर तथा राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) का प्रमुख भीभीएस लक्ष्मण पनि हुनेछन्।
ओपनर शुबमन गिललाई भ्रमणका लागि कप्तान बनाइएको छ। यो टिममा ट्वान्टी–२० विश्वकपको मुख्य टिमका दुई खेलाडी यशस्वी जैसवाल र सञ्जु स्यामसन मात्र छन्। अन्य खेलाडीलाई आराम दिइएको छ। विश्वकप भ्रमण गर्ने टोलीका रिजर्भ खेलाडीको सूचीमा रहेका रिंकु सिंह, आवेश खान र खलील अहमदजस्ता खेलाडीलाई पनि टोलीमा समावेश गरिएको छ। पछिल्लो १२ महिनामा इन्डियन प्रिमियर लिग (आइपिएल) र घरेलु मैदानमा आफूलाई प्रमाणित गरेका होनहार युवा खेलाडीलाई यसपटक मौका दिइएको छ।