काठमाडौं। समूहचरणको अन्तिम खेलमा बोलिभियालाई पराजित गर्दै पनामा कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्टर एन्ड को स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा पनामा ३-१ गोलअन्तरले विजयी भएको हो।
जितसँगै पनामाले समूह सी मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनायो। पनामा तीनबाट ६ अंक जोड्न सफल भयो।
पराजित बोलिभिया भने अंकविहीन रह्यो। खेलको २२औं मिनेटमै क्रिस्टियन मार्टिनेजले उपलब्ध गराइदिएको पासलाई सदुपयोग गर्दै जोसे फजार्डोको गोलमार्फत पनामाले सुरुआती अग्रता लिएको थियो। तर, ६९औं मिनेटमा ब्रुनो मिरान्डाले गोल गर्दै बोलिभियालाई खेलमा फर्काए। उनले रामिरो भाकालको पासलाई सदुपयोग गरे।
७९औं मिनेटमा एरिक डेभिसको पासमा एडुआर्डो गुरेरो र दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा सेजर यानिसले गोल गर्दै पनामालाई जित दिलाए।