एजेन्सी । भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले आफ्ना भेट्रान स्ट्राईकर सुनिल क्षेत्रीको प्रशंसा गरेका छन् । एएफसी एशियन कप फुटबलमा बहराईनविरुद्वको खेलको पुर्वसन्ध्यामा मुख्य प्रशिक्षक कन्स्टान्टिनले कीर्तिमानी गोलकर्ता क्षेत्री भारतीय लियोनल मेस्सी भएको बताएका हुन् ।
भारतले एशियन कप फुटबलमा आज राति बहराईनसंग प्रतिस्पर्धा गर्दैछ ।
भर्खरै मात्र भारतीय स्ट्राईकर क्षेत्रीले अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई अन्तराष्ट्रिय गोलमा पछाडी छाडेका थिए ।
‘क्षेत्री र मेस्सीको तुलना गर्दा म उनलाई (क्षेत्रीलाई) भारतीय मेस्सी भन्न चाहन्छु । उनी निकै अद्भुत खेलाडी हुन् । उनी अन्तराष्ट्रिय स्तरमा र क्लबमा समेत निरन्तर गोल गरिरहेका छन् । उनी भारतीय फुटबलका महान खेलाडी हुन् ।’ ५६ बर्षिया प्रशिक्षकले भने ।
भारतले आज लिग चरणको खेलमा बहराईनसंग प्रतिस्पर्धा गर्दैछ । नकआउट चरणमा पुग्न भारतीय टिमलाई बराबरीनै पर्याप्त छ ।
‘हामी बराबरीमा लागि खेल्ने छैनौ । हामी जितका लागि खेल्छौ । मलाई बराबरी खेल्ने बिषयमा थाहा छैन । हामी यहाँ जितका लागि उपस्थित छौ ।’ उनले थपे ।