काठमाडौं। युरोकपको अन्तिम १६ मा सोमबार फ्रान्स र बेल्जियम भिड्दैछन्। फिफा वरियतामा फ्रान्स दोस्रो स्थानमा छ भने बेल्जियम तेस्रोमा। फ्रान्स र बेल्जियम सन् २०१८ को विश्वकप र सन् २०२१ को नेसन्स लिगको सेमिफाइनलमा आमनेसामने भएका थिए।
केलियन एमबाप्पे नाकको चोटबाट केही हदसम्म ठिक भएका छन्। यद्यपि, उनले अझै पनि सुरक्षाका लागि मास्क लगाउनु पर्नेछ। फ्रान्सका कप्तानले आफ्नो दुई उपस्थितिमा अहिलेसम्म एक मात्र गोल गरेका छन्। उनले पोल्यान्डविरुद्ध पेनाल्टीबाट गरेका थिए। त्यसैले स्ट्राइकर एमबाप्पे कतारमा भएको पछिल्लो विश्वकपमा जस्तो उच्च आठ गोलमा पुग्न केही मिहिनेत गर्नुपर्छ।
फ्रान्सेली टोलीको खेल्ने शैलीबारे केही आलोचना भइरहेको छ, विशेषगरी आक्रामक लाइनबारे। फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले यस चरणमा धेरै चिन्तित देखिँदैनन्। युक्रेनसँग ०–० गोलको बराबरीमा रोकिएपछि बेल्जियमको प्रदर्शन खस्किएकोजस्तो देखिन्थ्यो। तर, रोमानियालाई पराजित गर्दै बेल्जियम दोस्रो स्थानमा उक्लिएर अन्तिम १६ मा पुगेको थियो।
बेल्जियम पछिल्लो दुई युरोकपमा क्वार्टरफाइनलबाट बाहिरिएको थियो। तर, यसपटक त्यो चरणमा पार गर्नुपर्ने चुनौती छ। बेल्जियमले स्ट्राइकर रोमेलु लुकाकुबाट राम्रो प्रदर्शनको आसा राख्नेछ। जारी प्रतियोगितामा उनले तीन गोल गरेका थिए। तर, भिएआरले उक्त गोललाई मान्यता दिएनन्। विजेताले क्वार्टरफाइनलमा पोर्चुगल वा स्लोभेनियाको सामना गर्नेछ।