काठमाडौं। युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको साबिक उपविजेता इङ्ल्यान्डले अर्को चरणमा स्विट्जरल्यान्डको सामना गर्ने भएको छ।
जुड बेलिङघमले इन्जुरी समयमा गोल गर्दै ग्यारेथ साउथगेटको टोलीलाई अन्तिम १६ मा लज्जास्पद हारबाट जोगाएका थिए। अतिरिक्त समयमा कप्तान ह्यारी केनले गोल गर्दा स्लोभाकिया २–१ ले पराजित भएको थियो।
विश्ववरीयता इङ्ल्यान्डभन्दा १४ स्थान तल रहेको स्विट्जरल्यान्डले अन्तिम १६ मा साबिक विजेता इटालीलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
इटालीमाथि अन्तिम १६ मा प्रभावशाली जित हात पारेपछि स्विट्जरल्यान्ड जारी प्रतियोगितामा ‘डार्कहर्स’ बनेको छ। समूह ‘ए’ मा आयोजक जर्मनीलाई १–१ गोलमा रोक्दै मुरात याकिनको टोली दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो।
स्विट्जरल्यान्डका स्टार खेलाडी आर्सनलका पूर्वमिडफिल्डर ग्रानिट एक्सकाहा हुन्, जसले बायर लेभरकुसेनलाई बुन्डेसलिगा उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले देशका लागि पनि त्यस्तै प्रदर्शन जारी राखेका छन्।
म्यानेजर याकिनले ३–४–३ फर्मेसनमा टोलीलाई खेलाइरहेका छन्। स्विट्जरल्यान्डको सबैभन्दा बलियो पक्ष सेन्टर ब्याक हो। म्यानुएल अकान्जी, निको एल्भेडी र फाबियन शारको प्रभावशाली प्रदर्शनले विपक्षी टोलीलाई गोल गर्न अहसज बनाइरहेको छ। यो खेलको विजेताले सेमिफाइनल प्रवेश गर्न रोमानिया, नेदरल्यान्ड्स, अस्ट्रिया वा टर्कीमध्ये कुनै एकसँग खेल्नेछ।