पाँचथर । फिदिममा जारी १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि भिडन्तमा आज विभागीय टिम आर्मी र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ ।
खेल फिदिम मा बिको खेल मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
आर्मीले दार्जिलिङको रोयल फुटबल क्लबलाई हराउँदै फाईनल यात्रा तय गरेको थियो । झापाले काठमाडौंका सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
सुदुरपश्चिमको खप्तड गोल्डकपमा सहभागिता नभएको आर्मी पुर्वको फाल्गुनन्द पुगेको हो । पुर्वको प्रभावशाली क्लब झापा ११ स्ट्राईकर कर्ण लिम्बुको प्रयासमा प्रतियोगिताको मुख्य दाबेदारको रुपमा अगाडी आएको छ ।
आर्मीका प्रशिक्षक गंगाराम देउवाले क्लबको टिम स्प्रिड राम्रो भएकाले उपाधि जित्ने दाबी गरे । जुनियर टिम भएपनि टिम भावना बलियो भएको उनको कथन छ ।
झापाका प्रशिक्षक प्रवेश कटुवालले आर्मीको स्प्रिडलाई रोक्न आफु सक्षम रहेको बताए ।
‘टिकी टाका पास खेलर आर्मीको गतिलाई रोक्ने छौ ।’ क्लबका पुर्व कप्तान समेत रहेका कटुवालले भने । झापालाई घरेलु मैदान र दर्शकको साथ रहनेछ ।
प्रतियोगितामा ए डिभिजनबाट एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, सरस्वती र मोफसलबाट सुनसरी ११, झापा ११, मोरङ ११, कर्णसिंह सोनाम स्मृति, आयोजक फिदिम स्पोर्टिङ गरि १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख प्राप्त गर्नेछ ।