काठमाडौं । तेस्रो सँस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा आज ललितपुरे डर्बीमा च्यासल र थ्री स्टारबीच प्रतिस्पर्धा हुदैछ ।
तेस्रो क्वाटरफाइनलको खेलमा दुवै टोली भिड्न लागेका हुन् । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
सहिद स्मारक ए डिभिजन लिगमा अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेका दुवै टोली मोफसलको यात्रा सफल बनाउने ध्याउन्नमा छन् । थ्री स्टार तेस्रो र च्यासल आठौँ स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।
राष्ट्रिय टिमका खेलाडीले भरिएका दुवै टोली पश्चिम नेपालमा आफुलाई अब्बल सावित गर्न सक्दो प्रयास गर्नेछन् ।
थ्री स्टारले बाइ पाएर क्वार्टरफाईनल पुगेको हो । च्यासलले दिल्लीको क्लबलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो । विदेशी खेलाडी अर्मान्ड मोएनको आगमनमा बलियो देखिएको च्यासललाई रोक्नुपर्ने चुनौती थ्री स्टारलाई छ ।
दुई सेन्टर डिफेन्डर दिनेश राजबंशी र अनन्त तामाङको आगमनले रक्षात्मक रुपमा बलियो देखिएको थ्री स्टारलाई कप्तान विक्रम लामा, सुनिल बल, रंन्जन विष्ट, गोलकिपरमा एलेन न्यौपानेको साथ छ ।
च्यासल युथ क्लबलाई हेमन्त थापा मगर, योगेश गुरुङ, अमिर श्रेष्ठ, संजोक राई, छिरिङ गुरुङ र सन्त बहादुर गुरुङको साथ रहेको छ ।
लिगमा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
आजको खेलको विजेताले फाइनल प्रवेशको लागि मेचि नेत्रालय फुटबल टे«निङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।