काठमाडौं। स्पेनको सामना गर्दै जर्जियाले युरोकपको अन्तिम १६ मा बदला पूरा गर्ने लक्ष्य बनाएको छ।
बुधबार समूहचरणमा पोर्चुगललाई २–० ले हराउँन सफल भएको जर्जियाले स्पेनविरुद्धको खेलमा यही लय समाउने आशा गरिएको छ।
तर, जारी प्रतियोगितामा अपराजित रहेको स्पेनसँग पोर्चुगलको तुलना गर्न उपयुक्त हुँदैन। स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्नुको थियो। तर, जर्जियाले यही संस्करणमा डेब्यू गरेको हो।
युरोकप छनोटअन्तर्गत गत सेप्टेम्बरमा ७–१ को हार बेहोरेको जर्जिया त्यसको दुई महिनापछि पुन: ३–१ ले पराजित भएको थियो। जर्जियाका प्रशिक्षक विली साग्नोलले राष्ट्रिय टोलीको सबैभन्दा ठूलो खेलको एक दिनअघि शनिबार भने, ‘७–१ को हारले हामीलाई धेरै कुरा सिकायो।’ सन् २०२१ मा जर्जियाले सग्नोललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
यो खेलको विजेताले शुक्रबार क्वार्टरफाइनलमा जर्मनी वा डेनमार्कसँग खेल्नेछ। तर, जर्जियाका लागि यो सम्भावना निकै कम देखिन्छ। फिफा विश्व वरियतामा स्पने आठौं स्थानमा रहेको छ। जर्जिया भने ७४ औं स्थानमा रहेको छ।
‘तर, हामी स्पेनलाई राम्रोसँग चिन्छौं। हामीले पछिल्लो तीन वर्षमा चार पटक खेलेका छौं। हामी चार पटक हारेका छौं। तर, यो प्रतिस्पर्धा फरक हुनेछ,’
मुख्य भिन्नता भनेको जर्जियाले पोर्चुगललाई पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। यसले गर्दा जर्जियाली टोलीमा आत्मविश्वास भरिएको छ। ‘यो बिल्कुलै फरक खेल हुनेछ। जर्जियामा धेरै सुधार भएको छ,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शनिबार भने।
सग्नोलले जर्जिया अझै पनि जर्मनीमा रहनुको एउटा कारण ७–१ को हार भएको बताएका छन्। त्बिलिसीमा भएको त्यो खेल युरो कप २०२४ को ब्रेकआउट स्टार १६ वर्षीया लामिन यामालको अन्तर्राष्ट्रिय डेब्यू पनि थियो।
‘उनले भर्खर मात्र सुरु गरेका छन्। धेरै वर्षसम्म उनले प्रदर्शनको मज्जा हामीले लिने छौं। हामी उनलाई फुटबलरको रूपमा मात्र होइन, एक व्यक्तिको रूपमा प्रशिक्षित गर्ने प्रयास गरिरहेका छौं,’ फुएन्टेले भने।