काठमाडौं। लाउटारो मार्टिनेजको दुई गोलसँगै कोपा अमेरिकाको क्वार्टरफाइनल प्रवेश गरिसकेको अर्जेन्टिनाले समूहचरणमा शतप्रतिशत जित हासिल गरेको छ।
हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोलअन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाले तीन खेलबाट अपराजित रहँदै नौ अंक जोड्यो। यो समूहबाट चार अंक जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दुई अंक जोडेको चिली र एक अंक जोडेको पेरु प्रतियोगिताबाट बाहिरिएका छन्।
मार्टिनेजले खेलको ४७औं मिनेटमा एन्जल डी मारियाको पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। ७२औं मिनेटमा लिआन्ड्रो परेडेसले पेनाल्टी मिस गर्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने मौका गुमायो।
तर, ८६औं मिनेटमा मार्टिनेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै २–० को सहज जित दिलाए। योसँगै मार्टिनेजले तीन खेलमा गोल संख्या चार पुर्याएका छन्।