काठमाडौं। भारतीय टोलीका ओपनर विराट कोहलीले ट्वान्टी–२० आई क्रिकेटबाट सन्न्यास लिएका छन्।
भारतलाई १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जिताएसँगै उनले सन्न्यास लिएका हुन्। ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ,’ उनले भने, ‘यो भारतका लागि मेरो अन्तिम ट्वान्टी–२० विश्वकप खेल थियो। हामी यसलाई हासिल गर्न चाहन्थ्यौं।’
प्रतियोगिताभर नचलेका कोहलीले दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए।
कोहलीले यही विश्वकपमार्फत सन्न्यास लिने कुरा ‘ओपन सिक्रेट’ थियो। ‘रोहित शर्माको यो नवौं विश्वकप थियो भने मेरो छैटौं टी–२० विश्वकप थियो। पछिल्ला केही खेलमा मैले राम्रो प्रदर्शन गर्न सकिनँ। यस समयमा म भित्रका भावनाहरू बाहिर आउन सकेका छैनन्,’ उनले भने।