काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत शनिबार हुने उपाधि भिडन्तमा सन् २००७ को च्याम्पियन भारतले पहिलो पटक फाइनल पुग्ने दक्षिण अफ्रिकी टोलीसँग प्रतिस्पर्धा गर्दैछन्।
यो खेल बार्बाडोसमा हुनेछ। दुवै टोली यो खेलका लागि तयार छन्। सन् २००७ मा सुरु भएको ट्वान्टी–२० विश्वकपको पहिलो संस्करणमा भारतीय टोली च्याम्पियन बनेको थियो।
१७ वर्षपछि पहिलो पटक पूरै प्रतियोगितामा अपराजित रहने टोली च्याम्पियन बन्नेछ। यो नवौं संस्करण हो र पछिल्लो आठ संस्करणमा कुनै पनि टोली एक खेल नहारी च्याम्पियन बनेको छैन।
सन् २००७ देखि २०२२ सम्मको ट्वान्टी–२० विश्वकपको च्याम्पियन बनेको टोलीले प्रतियोगिताका केही खेल हारेका छन्। तर, यसपटक दक्षिण अफ्रिका र भारत दुवै आफ्नो फाइनलसम्म पुग्दा अपराजित छन्।
एडेन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकी टोलीले यो विश्वकपमा अहिलेसम्म आठ खेल खेलेको छ र सबैमा जित निकालेको छ। मार्करामको टोलीले समूह चरणका चार खेल र सुपर एट चरणमा तीन खेल जितेको थियो। त्यसपछि सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेको थियो।
समूह चरणमा दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपाललाई पराजित गरेको थियो। त्यसपछि सुपर एटमा अमेरिका, इङ्ल्यान्ड र वेस्ट इन्डिजलाई हराएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली अफगानिस्तानलाई पराजित गर्दै पहिलो पटक आईसीसी विश्वकपको फाइनलमा पुगेको हो।
यसअघि दक्षिण अफ्रिकी टोली कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको थिएन। भारतीय टोलीलाई पराजित गरे दक्षिण अफ्रिका अपराजित रहँदै च्याम्पियन बन्नेछ र पहिलो पटक आईसीसी विश्वकप ट्रफी जित्नेछ।
रोहित शर्माको कप्तानीमा भारतले यो विश्वकपमा अहिलेसम्म सात खेल जितेको छ। एक खेल वर्षाले रद्द हुँदा नतिजाविहीन बनेको थियो। भारतले समूहचरणमा तीन खेल जितेको थियो भने सुपर एटमा पनि तीन खेल जितेको थियो। समूहचरणमा भारतले आयरल्यान्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो। तर, भारत र क्यानडाको खेल वर्षाले रद्द भएको थियो।
त्यसपछि सुपर एटमा भारतीय टोलीले अफगानिस्तान, बंगलादेश र २०२१ को च्याम्पियन अस्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई ६८ रनले हराएर २०२२ विश्वकपको सेमिफाइनलको हारको बदला पनि लिएको थियो।
यदि दक्षिण अफ्रिकालाई हराउँदै च्याम्पियन बने भारत कुनै पनि खेल नहारिकन एउटै संस्करणमा च्याम्पियन बन्ने पहिलो टोली बन्नेछ। सन् २००७ पछि भारतको यो दोस्रो ट्वान्टी–२० विश्वकप उपाधि पनि हुनेछ।