काठमाडौं। भारतका निवर्तमान प्रशिक्षक राहुल द्रविडले पछिल्लो १२ महिनामा आइसिसीको प्रतियोगितामा तीन पटक फाइनल खेल्नु आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनको प्रमाण भएको बताएका छन्।
ट्वान्टी–२० विश्वकपमा भारत सबैभन्दा बलियो टोली बनेको छ। गत वर्ष नोभेम्बरमा आफ्नै भूमिमा भएको एकदिवसीय विश्वकपमा पनि भारतले लगातार १० खेल जितेको थियो। तर, फाइनलमा पराजित भएको थियो।
दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी–२० विश्वकप फाइनलअघि द्रविडले भने, ‘हामी लगातार राम्रो क्रिकेट खेलिरहेका छौं, यो राम्रो कुरा हो। हामी तीनै फर्म्याटमा फाइनलमा पुगेका छौं र यसको श्रेय खेलाडीलाई जान्छ। यदि हामीले राम्रो खेल्यौं र भाग्यले साथ दियो भने हामी पक्कै पनि जित्न सक्छौं।’
गुयानामा भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै टोली बार्बाडोस पुगेको छ। तर, प्रशिक्षकले मानसिक रुपमा आफ्नो टोली खेलका लागि तयार रहेको बताएका छन्।
‘हामीले बीचमा एक दिन मात्र पायौं, त्यसैले प्रशिक्षण सम्भव थिएन। हामी शारीरिक, मानसिक र रणनीतिक रुपमा खेल तयार छौं,’ सन् २०२३ को डब्ल्यूटीसी फाइनल र एकदिवसीय विश्वकपमा अस्ट्रेलियासँग पराजित भएको कुरा सम्झिँदै द्रविडले भने, ‘केही पनि होइन। एकदिवसीय विश्वकपमा हामीले राम्रो खेलेका थियौं र फाइनलमा राम्रो तयारी गरेका थियौं। तर, अर्को टिम हामीभन्दा राम्रो थियो। यदि कुनै टिम फाइनलमा पुगेको छ भने त्यो राम्रो हुन्छ र उसलाई पनि हामीजत्तिकै जित्ने अधिकार छ।’