काठमाडौं। भिनिसियस जुनिअरको दुई गोलप्रेरित ब्राजिल कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ।
एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को दोस्रो खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोलअन्तरले पराजित गरेको हो। जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक जोड्यो। पाराग्वे भने अंकविहीन रहेको छ।
ब्राजिल पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको थियो। पाराग्वे भने कोलम्बियासँग २-१ गोलअन्तरले पराजित भएको थियो।
ब्राजिलले समूहचरणको अन्तिम खेलमा बुधबार नकआउट चरणमा पुगिसकेको कोलम्बियासँग सामना गर्नेछ। उक्त खेलको नतिजाले ब्राजिलको आगामी यात्रा तय गर्नेछ।
कोलम्बिया लगातार दुई खेलमा जित हासिल गर्दै ६ अंकसहित नकआउट चरणमा पुगिसकेको छ। एक खेल कम खेलेको कोस्टारिकाको एक अंक रहेको छ।
समूहचरणको अन्तिम खेलमा कोस्टारिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा कोस्टारिका फराकिलो अन्तरले विजयी भए र कोलम्बियासँग ब्राजिल पराजित भए कोस्टारिका नकआउट चरणमा पुग्नेछ।
ब्राजिलले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो। खेलको ३१औं मिनेटमै लुकास पाकेटाले पेनाल्टीलाई सदुपयोग गर्न नसकेपछि ब्राजिलले सुरुआती अग्रता लिने मौका गुमाएको थियो।
तर, ३५औं मिनेटमा भिनिसियस जुनिअरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले लुकासको पासमा गोल गरे। ४३औं मिनेटमा साभिओले गोल गरे। पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे।
तर, ४८औं मिनेटमा ओमर एल्डरेटले गोल गर्दै पाराग्वेलाई ३-१ को स्थितिमा ल्याए। ६५औं मिनेटमा लुकासले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिलले ४-१ को सहजै जित हासिल गर्यो।