काठमाडौं। ट्वान्टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा इंग्ल्याण्डलाई ६८ रनले हराएपछि भारतीय कप्तान रोहित शर्माले विराट कोहलीको बारेमा भनेका छन्, उनी फाइनलका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन्।
सेमिफाइनलअघि भारतीय समर्थकले विराटको ब्याटबाट रन आउने अपेक्षा गरेका थिए। तर, त्यसो भएन। यो विश्वकपमा कोहलीको प्रदर्शन निकै सामान्य रहेको छ। यस प्रतियोगितामा उनको अहिलेसम्मकै उच्च स्कोर मात्र ३७ रहेको छ।
सेमिफाइनल खेलपछि जब रोहितलाई विराटको प्रदर्शनको बारेमा सोधिएको थियो उनले भने, ‘हामी सबैलाई उसको क्षमताबारे थाहा छ। १५ वर्षसम्म खेलेका उनको फार्ममा कुनै समस्या छैन। सायद उनले फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन्।’
यो लगातार तेस्रो आईसीसी प्रतियोगिता हो, जहाँ भारत फाइनलमा पुगेको हो। जारी विश्वकपमा भारत अहिलेसम्म उत्कृष्ट लयमा रहेको छ। अहिलेसम्म एउटा पनि खेल नहारेको र आफ्नो गतिलाई अगाडि बढाउँदै भारतीय टोलीले सेमिफाइनलमा समेत इङ्ल्यान्डलाई कुनै मौका दिएन। यसमा कुलदीप यादव र अक्षर पटेलको पनि महत्त्वपूर्ण भूमिका थियो। दुवै बलरले ३–३ विकेट लिए र इङ्ल्यान्डलाई पुनरागमन गर्ने मौका दिएनन्।