काठमाडौं। वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको ट्वान्टी–२० विश्वकप २०२४ फाइनल चरणमा पुगेको छ।
भारत र दक्षिण अफ्रिकाबीच शनिबार बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा फाइनल खेल हुनेछ। जारी प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन्।
योसँगै दक्षिण अफ्रिका पहिलो पटक आइसिसीको प्रतियोगिताको फाइनल खेल खेल्ने तयारीमा छ। सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो।
ट्वान्टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि भारतले दबदबा कायम राखेको छ। यी दुईबीच कुल २६ खेल भएका छन्। जसमध्ये भारतले १४ र दक्षिण अफ्रिकाले ११ मा जित हात पारेका छन्।
त्यस्तै, एउटा खेल निष्कर्षविहीन बनेको छ। ट्वान्टी–२० विश्वकपमा पनि भारतले दक्षिण अफ्रिकालाई दबाबमा राखेको छ। भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। यस्तोमा भारत उपाधि भिडन्तमा जितको प्रबल दाबेदार हो।