एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ - ० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरे । यस्तै कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।
खेलको १९ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० को बनाए ।
योसंगै कप्तान मेस्सीले ४ सयौं ला लिगा गोल पुरा गर्न सफल भएका छन् । मेस्सीले ४३५ खेलमा ४ सय गोल पुरा गरेका हुन् । मेस्सी ला लिगामा ४ सय गोल गर्ने एक्लो खेलाडी बनेका छन् । उनी ला लिगाको सर्वाधिक गोलकर्ता हुन् ।
त्यसपछि खेलको ५९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ - ० को जित दिलाए ।
जितसंगै बार्सिलोनाले लिगमा पाँच अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले १९ खेलबाट ४३ जोडेको छ । पराजित इबर २२ अंक जोडेर १६ औं स्थानमा छ ।
दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ । आइतबार राति एट्लेटिकोले लेभान्टेलाई १ - ० गोल अन्तरले हराएको थियो ।