काठमाडौं । पोर्चुगल युरोकपअन्तर्गत समूह एफ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ।
जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहीबार बिहान सम्पन्न खेलमा पोर्चुगल २-० गोलले पराजित भएको हो। यद्यपि हारका बाबजुद पोर्चुगल समूह विजेता बन्यो।
पोर्चुगल र टर्की समान ६-६ अंकका साथ शीर्ष दुई स्थानमा रहे। प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए। जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डो भने पहिलो रोजाइमा मैदान उत्रिएका थिए।
खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा क्वारात्सखेलियाले गोल गर्दै पोर्चुगलविरुद्ध अग्रता दिलाए।
५७औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो। पोर्चुगलका सिल्भाले डिबक्सभित्र फउल गरेपछि प्राप्त पेनाल्टीलाई जर्जेस मिकाउटाडजेले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।
यसै समूहको अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो। यता, एक अंक जोडेको चेक रिपब्लिक भने बाहिरिएको छ ।