काठमाडौं। नेपालले आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपको उद्घाटन खेलमा युएईको समान गर्ने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी)ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले युएई प्रतिद्वन्दी पाएको हो। यी दुईबीचको खेल जुलाई १९ मा हुने एसिसीले जनाएको छ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानविरुद्ध थियो। उक्त तालिकालाई परिवर्तन गरिएको हो।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध खेल्ने छ। समूहचरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने एसिसीले जनाएको छ।