काठमाडौं। दुई महिनाअघि वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराले अफगानिस्तान ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने भविष्यवाणी गरेका थिए।
यो चमत्कार गर्ने टोलीका कप्तान राशिद खानले उनलाई विश्वासअनुसार प्रदर्शन गर्ने वाचा गरेका थिए। र, भयो पनि त्यस्तै। युद्धको चपेटा झेलिरहेको देशमा यो सफलता अब क्रिकेटका किंवदन्तीको हिस्सा बन्नेछ।
अफगानिस्तानले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई डकवर्थ लुइस पद्धतिमा आठ विकेटले पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम चारमा स्थान मात्र बनाएन, अस्ट्रेलियाजस्तो ठूलो टोलीलाई पनि प्रतियोगिताबाट बाहिर निकाल्यो।
‘वेस्ट इन्डिज, भारत र इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न सक्छन्,’ लाराले मे महिनामा एक प्रश्नको जवाफ दिँदै भनेका थिए,‘चौथो स्थानका लागि मेरो सर्त डार्कहर्स अफगानिस्तान हो। मैले समूह चरणका प्रतिस्पर्धी देखेको छैन, तर अफगानिस्तानले विगतमा खेलेका सबै विश्वकपका खेल देख्दा यो टोली प्रगतिको बाटोमा छ र अन्तिम चारमा पुग्न सक्छ।’
सेमिफाइनलमा स्थान पक्का गरेपछि राशिदले भने, '‘सेमिफाइनलमा पुग्नु हाम्रो लागि सपना साकार हुनु जस्तै हो। हामीले न्युजिल्यान्डलाई हराउँदा आत्मविश्वास बढेको थियो।
बंगलादेशविरुद्ध चार विकेट लिएका राशिदले थपे, ‘हामी सेमिफाइनलसम्म पुग्न सक्छौं भन्ने एक जना मात्र व्यक्ति थिए, ब्रायन लारा। हामीले उनको भविष्यवाणीलाई सही साबित गऱ्यौं।’
जुन २७ मा हुने सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने भारतले इंग्ल्यान्डको। तीव्र गतिका बलर नवीन उल हक र फजलहाक फारुकीले प्रतियोगिताभर नयाँ बलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
लाराले भने, ‘ट्वान्टी–२० क्रिकेटमा राम्रो सुरुआतले बीचका ओभरमा मद्दत गर्छ। प्रतियोगिताको दौडान उनीहरू दुवैले उत्कृष्ट सुरुआत दिएका छन्। जसले टोलीलाई सजिलो बनाइरहेको छ।’
वर्षाका कारण खेल पटक–पटक रोकिएको थियो। राशिदले आफू १० विकेट लिन मानसिक रूपमा तयार रहेको बताए। उनले भने, ‘वर्षा हाम्रो हातमा थिएन। तर, हामीले पूरा २० ओभर खेल्नुपर्छ र १० विकेट लिनुपर्छ भन्ने थाहा थियो। यसरी नै हामी जित्न सक्थौं।’
गुलबदीन नइबले अफगानिस्तानलाई जित दिलाउन महत्त्वपूर्ण योगदान दिए। उनले अफगानिस्तानमा उत्सव मनाइने बताएका छन्।
‘यो हाम्रो लागि ठूलो उपलब्धि हो। हामीले यू–१९ स्तरमा यस्तो उपलब्धि हासिल गरेका छौं। तर, यो स्तरमा गर्न सकेका थिएनौं। देशको वातावरण कस्तो हुन्छ भनेर म अनुमान गर्न सक्दिनँ। हामीले कुनै पनि हालतमा सेमिफाइनलसम्म पुग्नुपर्थ्यो ताकि हामी देशवासीलाई यो खुसी दिन सकौं,’ उनले भने।