काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका दुई डिफेन्डर अनन्त तामाङ र दिनेश राजवंशी रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । राष्ट्रिय फुटबल टिमका दुई सेन्टर डिफेन्डर धनगडीमा जारी खप्तड गोल्डकपमा थ्री स्टारको जर्सीमा देखा पर्नेछन् ।
भखरै सम्पन्न पल्सर सहिद स्मारक ए डिभिजन लिगमा दिनेश राजवंशी विभागीय टोली नेपाल पुलिस क्बलको जर्सीमा देखिएका थिए । नेपाल पुलिस क्लबको करारमा रहेका उनी लिग समापनसँगै फुकुवा भएका थिए ।
‘दिनेशको रिलिज पत्र प्राप्त भएको छ । उनी भोली खप्तडमा थ्री स्टारको जर्सीमा खेल्नेछन् ।’ क्लबका अध्यक्ष अरुणमान जोशीले भने ।
अनन्त र दिनेश क्लबमा अनुबन्धन भएको पुष्टि गर्दै थ्री स्टारका अध्यक्ष जोशीले मोफसलभरका प्रतियोगितामा दुवै खेलाडी क्लबको जर्सीमा देखिने बताए । 'मोफसलका प्रतियाेगिताभर दुवै खेलाडी थ्री स्टार रहनेछन् । आगामी लिगमा समेत अनन्त र दिनेशलाई क्लबको जर्सीमा देख्न पाईनेछ ।' उनले भने ।
करार अवधि बाँकी रहेपनि दिनेश पारिवारीक समस्या देखाउँदै पुलिस टिमबाट बाहिरिने निर्णय गरेका हुन् । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापाले लिग समापन भएको दिन दिनेश अव आफुसँग नरहने बताएका थिए ।
यस्तै अर्का सेन्टर डिफेन्डर अनन्त तामाङ पनि खप्तड गोल्डकपमा थ्रीस्टारको जर्सीमा देखा पर्नेछन् । पछिल्लो समय मोफसलमा थ्रीस्टारकै जर्सीमा देखिएका अनन्त लिगमा भने थ्रीस्टारको टिममा देखिएन ।
थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबसँगको सम्झौता कारण अनन्तले लिग खेल्न पाएका थिएनन् । लिगको अन्तिम दुई चरणका खेल बाँकी रहँदा थ्रीस्टार र मनाङले आपसी समझदारीमा दुबै क्लबबाट खेल्न नपाउने गरि अनन्तलाई रिलिज गरेका थिए ।
लिगको समापनसँगै अनन्त थ्री स्टारमा पुन जोडिएका हुन् ।
खप्तड गोल्डकप अन्तर्गत भोली हुने तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भ्याली च्यासल युथको सामना गर्दैछ । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार तेस्रो स्थान रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।