काठमाडौं। अस्ट्रेलियाका महान ब्याट्सम्यान डेभिड वार्नरले १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेका छन्।
मंगलबार अफगानिस्तानले बंगलादेशविरुद्धको ट्वान्टी–२० विश्वकपमा जित हात पारेसँगै उनले ‘गुपचुप’ रूपमा सन्न्यासको घोषणा गरेका हुन्। अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको थियो।
बंगलादेशविरुद्धको जितसँगै सन् २०२१ को च्याम्पियन अस्ट्रेलिया ‘सुपर एट’को समूह ‘एक’ को तेस्रो स्थानमा रह्यो। अफगानिस्तानसँग स्तब्ध हुनुअघि अस्ट्रेलियाले भारतसँग पनि हार बेहोरेको थियो। सन् २००९ को जनवरीमा ट्वान्टी–२० खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। ३७ वर्षीय वार्नरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुन २४ मा ग्रोस आइलेटमा भारतविरुद्ध खेलेका थिए।
अस्ट्रेलियाका सर्वकालिक महान खेलाडीमध्येका एक वार्नरले न ‘गार्ड अफ अनर’ पाउन सके न त दर्शकले उनलाई उभिएर ताली बजाएर बिदाइ गरे। आफ्नो अन्तिम खेलमा उनले ६ बलमा ६ रन बनाएका थिए। उनी अर्शदीप सिंहको बलमा सूर्यकुमार यादवबाट क्याच आउट भएका थिए। उनी टाउको निहुराएर मैदानबाट बाहिर निस्केका थिए। यद्यपि, यो उनको अन्तिम खेल हो या होइन भन्ने कसैलाई थाहा थिएन।
वार्नरले सन् २०२३ को नोभेम्बरमा भारतमा विश्वकप फाइनल जित्दा आफ्नो अन्तिम एकदिवसीय र यसै वर्षको जनवरीमा पाकिस्तानविरुद्ध अन्तिम टेस्ट खेलेका थिए। उनले यो ट्वान्टी–२० विश्वकप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने संकेत दिएका थिए।
वार्नरले ११० खेलमा ३३.४३ को औसत र १४२.४७ को स्ट्राइक रेटमा ३,२७७ रन बनाएका छन्। उनले छोटो फर्म्याटमा एक शतक र २८ अर्धशतक बनाएका थिए। उनले सन् २०११ देखि २०२४ सम्म ११२ टेस्टमा २६ शतक र ३७ अर्धशतकसहित ४४.५९ को औसतमा ८,७८६ रन बनाएका थिए भने १६१ एकदिवसीय खेलमा २२ शतक र ३३ अर्धशतकसहित ४५.३० को औसतमा ६,९३२ रन बनाएका थिए।
वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ शतक र १९ हजार रन बनाएका छन्। उनले सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचका क्रममा केपटाउनको न्युल्यान्ड्समा भएको स्यान्डपेपर गेट स्क्यान्डलसँग आफ्नो नाम सधैं जोडिने बताए। न्युल्यान्ड्स टेस्टमा क्यामरुन बेनक्राफ्टले स्यान्डपेपरको प्रयोग गरेर बललाई स्क्रैप गरेका थिए र वार्नरलाई एक वर्षको प्रतिबन्ध लगाइएको थियो।
तत्कालीन कप्तान स्टिभ स्मिथले पनि यस्तै सजाय पाएका थिए। वार्नरलाई अस्ट्रेलियाली क्रिकेट संरचनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न आजीवन प्रतिबन्ध लगाइएको थियो।
गत साता अस्ट्रेलिया र बंगलादेशबीचको सुपर एटको खेलअघि नर्थ साउन्डसँग कुरा गर्दै उनले भने, ‘अबको २०/३० वर्षसम्म मानिसहरूले मेरो बारेमा कुरा गर्छन्, त्यहाँ स्यान्डपेपर स्क्यान्डलको कुरा सधैं हुनेछ।’