काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपमा भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले नयाँ कीर्तिमान बनाएका छन्।
अस्ट्रेलियाविरुद्ध सुपर ‘एट’को महत्वपूर्ण खेलमा डेभिड वार्नरको विकेट लिएसँगै अर्शदीपले जारी विश्वकपमा १३ विकेट पुर्याएका छन्।
योसँगै उनी विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन्। यसअघि यो रेकर्ड रूद्रप्रताप सिंहको नाममा थियो।
उनले १७ वर्षअघि सन् २००७ को विश्वकप खेल्दै भारतीय टोलीका लागि सर्वाधिक १२ विकेट लिएका थिए। ट्वान्टी–२० मा अर्शदीपका लागि यो वर्ष निकै राम्रो रह्यो। सन् २०२४ को आइपिएलमा पञ्जाब किंग्सबाट खेल्दा उनले १४ खेलमा १९ विकेट लिएका थिए।
विश्वकपमा उनको यही फर्म जारी रहे उनी भारतका लागि सर्वाधिक विकेट लिने बलर बने। अर्शदीपले सन् २०२२ को ट्वान्टी–२० विश्वकपमा १० विकेट लिएका थिए। अर्शदीपले विश्वकपमा कुल २३ विकेट लिएका छन्। जसमा उनले १० पटक पहिलो ओभरमा विकेट लिन सफल भएका छन्।