काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने भएका छन्।
मंगलबार बिहान सम्पन्न खेलमा सुपर ‘एट’ को समूह १ को खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तानले दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।
अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो।
दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गरेको थियो। दक्षिण अफ्रिका समूह २ को विजेता हो। दक्षिण अफ्रिकाले अमेरिकालाई १८ र इङ्ल्यान्डलाई सात रनले पराजित गरेको थियो।
अन्तिम खेलमा दक्षिण अफ्रिका डिएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। यी दुई टोली फाइनल प्रवेश गर्न बिहीबार प्रतिस्पर्धा गर्नेछन्।