काठमाडौं। जेम्स रोड्रिगेजले दुई असिस्ट गरेपछि कोलम्बियाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।
एनआरजी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
जितसँगै कोलम्बियाले समूह डीमा तीन अंक जोडेको छ। कोलम्बिया शीर्ष स्थानमा रहेको छ।
खेलको ३२औं मिनेटमै डेनियल मुनोजको गोलमार्फत कोलम्बियाले सुरुआती अग्रता लिएको थियो। उनले रोड्रिगेजको पासमा गोल गरे।
त्यसको १० मिनेटपछि नै उनकै पासमा जेफरसन लेर्माले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए। ६९औं मिनेटमा जुलियो एन्सिसोले गोल गर्दै पाराग्वेलाई २-१ को स्थितिमा ल्याएका थिए।
उनले रामोन सोसाको पासमा गोल गरेका थिए। तर, त्यो गोल पाराग्वेका लागि पर्याप्त हुन सकेन।