काठमाडौं। कप्तान लुका मोड्रिचले पेनाल्टी सदुपयोग गर्न नसक्दा साबिक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको छ।
रेड बुल एरेना लाइपजिगमा सोमबार राति सम्पन्न खेलमा क्रोएसियालाई १- १ गोलको बराबरीमा रोक्दै इटाली नकआउट चरणमा पुगेको हो।
दुई खेलबाट चार अंक जोडेको इटाली समूह बी को उपविजेता बन्यो। क्रोएसियाको यो दोस्रो बराबरी हो। पहिलो खेलमा स्पेनसँग ३-० गोलअन्तरले पराजित भएको क्रोएसिया दोस्रो खेलमा अल्बानियासँग २-२ गोलको बराबरीमा रोकिएको थियो। समूहमा तेस्रो हुनेमध्ये शीर्ष चारमा रहेर अर्को चरण पुग्ने क्रोएसियाको सम्भावना कमजोर बनेको छ।
इटालीले भने पहिलो खेलमा अल्बानियालाई २-१ गोलअन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा स्पेनसँग १-० गोलअन्तरले पराजित भएको थियो। स्पेन शतप्रतिशत जित हासिल गर्दै अन्तिम १६ मा पुगिसकेको छ।
इटालीका डिफेन्डरले डिबक्सभित्र ह्यान्ड गरेपछि क्रोएसियाले ५४औं मिनेटमा पाएको थियो। तर, उक्त पेनाल्टीलाई मोड्रिचले गोलमा परिणत गर्न सकेनन्।
त्यसको एक मिनेटपछि नै एन्टे बुडिमिरको पासमा उनले नै गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाए। तर, दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा मटिया जाकाग्नीले रिकार्डो क्लाफियोरीको पासमा गोल गर्दै इटालीलाई नकआउट चरणमा पुर्याए।