काठमाडौं। अस्ट्रेलिया आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर ‘एट’मा भारतसँग पराजित भएको छ।
सोमबार सम्पन्न खेलमा अस्ट्रेलिया २४ रनले पराजित भएको हो। योसँगै अस्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।
यस समूहबाट ६ अंकसहित भारत शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ। भारतले फाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्ने छ। सुपर ‘एट’को अन्तिम खेलमा बंगलादेशले अफगानिस्तानलाई हराए अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।
तीन खेलबाट दुई अंक जोडेको अस्ट्रेलियाको रनरेट ०.२२३ रहेको छ। समान खेलबाट समान अंक जोडेको अफगानिस्तानको रनरेट -०.६५० रहेको छ भने बंगलादेश अंकविहीन रहेको छ।
भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए। ४३ बल खेलेका उनले नौ चौका र चार छक्का प्रहार गरे। कप्तान मिचेल मार्स ३७, ग्लेन म्याक्सेवल २० र टिम डेभिड १५ रनमा आउट हुँदा प्याट कमिन्स ११ र मिचेल स्टार्क चार रनमा अविजित रहे।
भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए। कुलदीप यादवले दुई विकेट लिँदा जसप्रीत बुमराह र अक्षर पटेलले समान एक विकेट लिए।
त्यसअघि ड्यारेन सैमी राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रन बनाएको थियो।
भारतका कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए। ४१ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे। सूर्यकुमार यादव ३१, शिवम दुबे २८ र ऋषभ पन्त १५ रनमा आउट हुँदा हार्दिक पाण्ड्या २७ र रविन्द्र जडेजा नौ रनमा अविजित रहे।
अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई विकेट लिए। जोश हेजलवुडको नाममा एक विकेट रह्यो।